काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका करिब ८० हजार सैनिक देशभर परिचालन भएका छन् ।
फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन सेनाले व्यापक तयारी अघि बढाएको हो । सैनिक स्रोतका अनुसार निर्वाचनसम्बन्धी मुख्य प्राविधिक तथा सुरक्षा जिम्मेवारीहरूमा सेनाको प्रत्यक्ष भूमिका रहनेछ।
मतपत्र छपाइको सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानी, निर्वाचन सामग्रीको सुरक्षित भण्डारण र संवेदनशील स्थानको सुरक्षा व्यवस्थापनमा सेनाले अग्रणी भूमिका खेल्नेछ।
मतदानका क्रममा कुनै आपतकालीन अवस्था सिर्जना भए तत्काल उद्धार कार्यमा सेना परिचालन गरिनेछ। त्यसका लागि सेनालाई हेलिकोप्टर प्रयोगको अनुमति दिइएको बताइएको छ ।
निर्वाचन अवधिभर शंकास्पद वस्तु तथा विस्फोटक पदार्थ निष्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली तयारी अवस्थामा रहनेछ ।
मतदानका दिन सेनाको टोली प्रत्येक मतदान केन्द्रबाट सवारी साधनमा बढीमा ३० मिनेटको दूरीमा तैनाथ रहने बताइएको छ।