झापा । झापा क्षेत्र नम्बर–५ मा आसन्न निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ‘हेभिवेट’ प्रतिस्पर्धाको केन्द्र मानिएको यस क्षेत्रमा सम्भावित द्वन्द्व र सुरक्षा चुनौतीको मूल्यांकनपछि पाँच डीएसपीसहित दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।
इलाका प्रहरी कार्यालय दमकमा मात्र डीएसपीको दरबन्दी रहे पनि गौरीगन्ज, गौरादह र कमल गाउँपालिकासहित प्रत्येक पालिकामा एकरएक डीएसपीको कमान्डमा प्रहरी परिचालन गरिएको छ ।
यस क्षेत्रमा केपी शर्मा ओली (नेकपा एमाले) र बालेन शाह (राष्ट्रिय स्वतन्त्र पार्टी) जस्ता प्रभावशाली उम्मेदवार प्रतिस्पर्धामा छन् ।
सम्भावित सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कोसी प्रदेश प्रहरी कार्यालयबाट समेत थप १०० सुरक्षाकर्मी झापा–५ मा तैनाथ गरिएको थियो । पछिल्ला दिनमा पुनः चार डीएसपीसहित ठूलो संख्या थपिएको छ।
झापा प्रहरी प्रमुख एवं एसपी वसुन्धरा खड्काका अनुसार निर्वाचन सुरक्षाका लागि तीन गुणासम्म जनशक्ति बढाइएको छ।