काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चुनावी प्रचारमा बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको छ।
आयोगका प्रवक्ता सहसचिव डा। टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै गर्दै यस्तो आग्रह गरेका हुन्।
विशेषगरी निर्वाचन प्रचारप्रसार र राजनीतिक गतिविधिमा प्रत्यक्ष वा परोक्ष रूपमा बालबालिकाको प्रयोग भइरहेको भेटिएको भन्दै आयोगले यसलाई तत्काल रोक्न निर्देशन दिएको छ। सामाजिक सञ्जालमा हुने प्रचार सामाग्रीमा बालबालिकालाई संलग्न गराउनु आचारसंहिताको गम्भीर उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समय दाङ, रौतहट र पर्सा लगायतका जिल्लाहरूमा राजनीतिक दलका कार्यकर्ता र विभिन्न समूहबिच भएका विवादका कारण निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था आउनुले शान्ति सुरक्षामा ठूलो चुनौती थपिएको आयोगको ठहर छ। आयोगले राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले एकअर्काप्रति लक्षित गर्ने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले निर्वाचनको वातावरण बिथोल्न सक्ने चेतावनी दिएको छ। यस्ता अभिव्यक्तिले सामाजिक र सांस्कृतिक सद्भावमा समेत खलल पुर्याउने भन्दै सबै पक्षलाई धैर्यता र संयमता अपनाउन आग्रह गरिएको छ।
साथै आयोगले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री बनाउन राजनीतिक दल, नागरिक समाज, विद्यालय र अभिभावकको समेत उत्तिकै जिम्मेवारी रहने स्पष्ट पारेको छ।