काठमाडौं। बहालवाला सांसद र चर्चित कलाकारसहित ४९ जनालाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ।
आयोगले गत २३ र २४ भदौको घटनाको प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसहित जेनजी अभियन्ता, पूर्वपत्रकार, युट्युबर, कन्टेन्ट क्रियटरहरूमाथि सूक्ष्म अनुसन्धानको सिफारिस गरेको हो ।
आयोगले आन्दोलनका क्रममा हिंसा भड्काउन र भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै उनीहरुलाई अनुसन्धानको दायरामा राखेको छ ।
आयोगको अनुसन्धानको घेरामा तानिनेमा गौरीबहादुर कार्की, रक्षा बम‚ ओमप्रकाश अर्याल, सुधन गुरुङ‚ दुर्गा प्रसाई, बब्लु गुप्ता‚ हेमराज थापा‚ हिमानी राज्यलक्ष्मी सिंह‚ गणेश कार्की, सुलभ खरेल, कृष्ण कार्की, तोसिमा कार्की, राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहोरा, मनीष झा, ज्वाला संग्रौला, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, आशिका तामाङ‚ अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानियाँ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहोरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रविकिरण हमाल, हरि ढकाल, निश्चल बस्नेत, पशुपति खड़का, ऊर्जा बराल, जेरी ताम्राकार, हेमसागर विद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, निशान मैनाली छन्।
'उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट टिका टिप्पणी भएको देखिन्छ । भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षतिमा निजहरूको संलग्नता रहे–नरहेको र सार्वजनिक शान्ति भंग गर्न दुरुत्साहन भए–नभएको बारे थप अनुसन्धान हुन आवश्यक छ,' आयोगले भनेको छ ।
आयोगले घटनामा बाँच्न पाउने अधिकार हनन भएको निष्कर्ष निकाल्दै सम्बन्धित पदाधिकारीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको छ।