काठमाडौं । धारिलो हतियार (खुकुरी) देखाएर मोटरसाइकल नै लुटेर फरार भएका दुई जना पक्राउ परेका छन् ।
फागुन ३ गते राती ११ बजेको समयमा सानो भर्याङस्थित आर्मी मेडिकल कलेज नजिकैको सडक खण्डमा गुडिरहेको मोटरसाइकललाई रोकी पैदल हिंडिरहेका दुई जना व्यक्तिहरूले धारिलो हतियार देखाएर ज्यान मार्ने धम्की दिई उक्त मोटरसाइकल नै चोरेर फरार भएका दुई जना पक्राउ परेका हुन् ।
प्रहरी वृत्त स्वयम्भूमा बागमती प्रदेश ०२–०२६ प ५३१० नम्बरको मोटरसाइकललाई पैदल आएका दुई जना व्यक्तिहरूले रोकी धारिलो हतियार देखाई ज्यान मार्ने धम्की दिई उक्त मोटरसाइकल लिइ फरार भएको भनि निवेदन परेपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला घर भइ नागार्जुन–३ ठुलोभर्याङ बस्ने वर्ष १९ को अनिस सोनाम र रसुवाको धुन्चे घर भइ नागार्जुन–२ सानोभर्याङ बस्ने वर्ष १८ को राजन तामाङ रहेका छन् ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उक्त लुटिएको मोटरसाइकल सहित उनीहरुलाई नागार्जुन–२ तीनघरेबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजनालाई डाँका चोरी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।