काठमाडौंं । जिल्ला प्रशासन कार्यालय हुम्लामा निर्वाचन प्रहरीहरू (म्यादी प्रहरी)ले नाराबाजी गरेका छन् । सेवा सुविधामा असन्तुष्टि जनाउँदै उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले नाराबाजी गरिरहेको र त्यसबारे बुझ्ने काम भइरहेको बताएका छन् ।
हुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ । उनीहरुले सेवा सुविधा काट्न लागिएको भन्दै प्रदर्शन गरेका हुन् ।
निर्वाचन प्रहरीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमानसरह प्रतिदिन ८६९.४० रुपैयाँका दरले ४० दिनसम्मका लागि ३४ हजार ७७६ रुपैयाँ पाउँछन् ।
उनीहरूले मतदानको दिनको अघिपछि गरेर चार दिनका निम्ति प्रतिव्यक्ति प्रतिदिन ३०० रुपैयाँका दरले एकमुष्ट १ हजार २०० रुपैयाँ खाजा खर्च समेत पाउँछन् ।
हिमाली क्षेत्रका म्यादी प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही रकम बढी पाउने गर्दछन् । फरक सुविधाका कारण हिमाली क्षेत्रको हकमा प्रति निर्वाचन प्रहरी खर्च ११ हजार ५७० रुपैयाँ हुन आउँछ भने पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ पाउँछन् ।
तर, हुम्लाका निर्वाचन प्रहरीहरुले पहिले भनिएको भन्दा कम तलब दिन लागिएको भन्दै आन्दोलनमा उत्रिएका बताएका छन् ।
यद्यपी प्रमुख जिल्ला अधिकारी रेग्मीले भने नियम कानून अनुसार नै उनीहरूले सेवा सुविधा पाउने बताएका छन् ।
हुम्लामा नेपाल प्रहरीतर्फ ५ सय ४९ जना र सशस्त्र प्रहरीतर्फ ४६ जना गरि जम्मा ५ सय ९५ जना निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरिएको थियो ।
माघ १५ गतेबाट २५ गतेसम्म अभ्यास सहितको प्रशिक्षणमा सहभागी भएका उनीहरु त्यसपछि मात्रै फिल्डमा खटिएका हुन् । फिल्डमा खटिएको १० दिन नहुँदै उनीहरु आन्दोलनमा उत्रिएपछि प्रशासनका लागि टाउको दुःखाई बनेको छ ।