काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी (म्यादी प्रहरी) को तालिम सकिएको छ ।
निर्वाचनलाई लक्षित गरेर भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर, बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने बताइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पोशाक तयार भइनसकेका कारण फिल्डमा उत्रन अझै केही दिन लाग्नेछ । देशैभरी सञ्चालन गरिएको निर्वाचन प्रहरीको तालिम भने सकिएको छ ।
आगामी निर्वाचनमा ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । नेपाली सेना मात्रै ७९ हजार ७२७ जना परिचालन हुन्छन् । नेपाल प्रहरी ७५ हजार ५९७ जना परिचालन हुन्छन् । प्रहरीमातहत नै रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुन्छन् ।
३४ हजार ५७६ सशस्त्र प्रहरी निर्वाचनमा परिचालन हुन्छन् । सशस्त्र प्रहरी मातहत नै रहनेगरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुन्छन् ।
त्यस्तै १ हजार ९२१ गुप्तचर पनि परिचालन हुन्छन् । चारै वटा सुरक्षा निकाय र निर्वाचन प्रहरी समेत गरेर ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी निर्वाचनमा खटिन्छन् ।
प्रहरी प्रधान कार्यालयले विवादित ठेकेदारलाई विना टेण्डर बन्दोबस्तीका सामानको आपूर्तिका लागि काम दिंदा समयमै पोशाक तयार हुन सकेको छैन ।
प्रहरी मुख्यालयले विवादित छवीका ठेकेदार ज्ञानेन्द्र बस्नेतको समूहलाई झण्डै ७० करोड बराबरको बन्दोबस्तीको सामान आपूर्तिका काम दिएको छ ।
बस्नेतकै समूहलाई काम दिलाउन प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ, पूर्वडिएसपी गणेश चन्दलगायतको समूह लागि परेको गृह मन्त्रालय स्रोत बताउँछ ।
सबैभन्दा अचम्म त के छ भने गएको साउनमा भएको ठेक्कामा सेटिङ गर्ने उनै बस्नेतको समूहलाई नै अहिले निर्वाचन प्रहरीका लागि आवश्यक बन्दोबस्तीको सामान विनाटेण्डर दोब्बर बढी मूल्यमा र्दिएर जेनजी सरकारले सुशासनको मजाक उडाएको भन्दै विरोध भइरहेको छ ।
बस्नेतको समूहमा टोपेन्द्र बीसी, श्रवण अग्रवाल, रितेस अग्रवालललगायतका ठेकेदारहरु रहेका छन् ।