Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिने

दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिने

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ ।

 राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान गरिने भएको हो । 

प्रसाईं सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, प्रसाईंविरुद्ध झुटा अफवाह फैलाउन नहुने कसुरमा पनि अनुसन्धान गरिने भएको छ ।

प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ ।

प्रसाईंलाई यसअघि प्रहरीले माघ २३ गते पनि पक्राउ गरेको थियो । त्यसबेला उनी हाजिर जमानीमा छुटेका थिए । निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएर त्यसबेला पक्राउ गरी बयान लिएर छाडेको थियो।  

उनलाई माघ ५ गते पनि प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउनेदेखि सरकारी वेबसाइट ह्याक गरेर डाटा चोरी गर्नेसम्मको योजना बनाएर रकम लगानी गरेको आरोप लागेपछि त्यसबेला उनलाई पक्राउ गरिएको थियो । 

यस्तै, उनले कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले सामाजिक सञ्जालमा पनि यो भिडियो पोस्ट गरेका थिए । त्यसबेला उनलाई पक्राउ गरी अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचारसमेत गरेको थियो । 

आक्रामक अभिव्यक्तिका कारण प्रसाई यसअघि पनि पटक पटक पक्राउ पर्दै र छुट्दै आएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077