काठमाडौं । आम जनता पार्टी (आजपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गरेको छ ।
आजपाका प्रवक्ता चन्द्रभुषण साहले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजकसमेत रहेका प्रसाईँलाई रिहा गर्न माग गरेका हुन् ।
'सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित गर्ने र पटकपटक गिरफ्तारी गर्नछोड्न केटाकेटी खेल खेल्नु सरकारको मर्यादा र परिपक्वताको विपरीत मात्र नभई विधिको शासन र लोकतन्त्रमाथि प्रहार हो प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुरुन्त निश्प्रभावी बनाई बिना सर्त रिहा गर्न सरकारसँग माग गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ ।
प्रसाईँ सोमबार साँझ भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ ।
प्रसाईं एक साताअघि मात्रै रिहा भएका थिए। यसअघि उनलाई माघ २३ मा काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलबाट पक्राउ गरिएको थियो।
वीरगञ्जमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाँदा पक्राउ परेका थिए। दुई दिन प्रहरी हिरासतमा बसेका उनी माघ २५ मा हाजिरी जमानीमा छुटेका थिए।
त्यतिवेला प्रसाईंले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पत्राचार गरेपछि प्रहरीले पक्राउ गरेको थियो। अहिले पनि निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रसाई यसअघि पनि पटक पटक पक्राउ पर्दै र छुट्दै आएका थिए।