काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि अहिलेसम्म ६७१ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । निर्वाचन आयोगका अनुसार देशभर रहेका ३ हजार ४०६ उम्मेदवारमध्ये करिब २० प्रतिशतले मात्र बैंक खाता खोलेका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार तथा खर्च व्यवस्थापनका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसका लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उम्मेदवारको बैंक खाता खोल्न सहजीकरण गर्न परिपत्रसमेत जारी गरिसकेको छ। तर, आयोगको निर्देशनअनुसार अधिकांश उम्मेदवारले अझै खाता नखोलेको तथ्यांकले निर्वाचन खर्च पारदर्शितामा चुनौती देखिएको छ।
प्रवक्ता भट्टराईका अनुसार हाल देशभर राजनीतिक दल तथा उम्मेदवारले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाइरहेका छन्।
खाता खोल्ने क्रममा देखिएका समस्या तथा अप्ठ्याराहरूको विषयमा बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने तयारी गरेको छ।