काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वका लागि ट्राफिक प्रहरीले सुरक्षा योजना तयार पारेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन तथा दर्शनार्थीहरुलाई सहज आवतजावतका लागि पार्किङ र रुट निर्धारण गरेको हो।
पशुपतिमा शुक्रबारदेखि नै साधु-सन्त र भक्तजनहरुको बाक्लो उपस्थिति भइसकेको छ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने ट्राफिकले जनाएको छ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अवस्थामा भने डाईभर्सन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने जनाइएको छ।
तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई आवश्यकता अनुसार निषेध गरिएको छ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने योजना छ।