७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा अब्बल पाणिनि गाउँपालिका
काठमाडौं । बालेन्द्र साह ‘बालेन’ मेयर रहेको काठमाडौं महानगरपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर रहेको पाइएको छ । यद्यपी बालेन माघ ४ गते नै राजीनामा दिएर चुनावी मैदानमा छन् ।
देशभर रहेका ६ महानगरपालिकामध्ये काठमाडौं कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर देखिएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले ४४.९७ अंकमात्र प्राप्त गरेको छ ।
६ महानगरपालिकामध्ये सबैभन्दा अब्बल भने यस वर्ष मोरङको विराटनगर महानगर रहेको छ । विराटनगरले ७८.११ अंक पाएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । जसले ७६.३३ प्रतिशत अंक पाएको छ । तेस्रो स्थानमा चितवनको भरतपुर छ । भरतपुरले ६८.०४ अंक पाएको छ ।
चौथो स्थानमा रहेको पोखराले ५८.०४ अंक पाउँदा पाँचौं स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अंक पाएको छ । काठमाडौं भने छैटौं स्थानमा रहेको छ ।
आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।
यसैगरी आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको रहेका छन् ।
देशभरि ८० अंक कटाउने स्थानीय तह भने ४ वटा मात्र छन् । जसमा अधिकांश पश्चिम नेपालका छन् ।
८० अंक कटाउने स्थानीय तह ४
७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै सबैभन्दा अब्बल सावित भएको छ ।
पाणिनि गाउँपालिकाले कुल ८३.८४ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको आयोगले बिहीबार सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।
८० अंक कटाउने देशभरि चार स्थानीय तह छन् । जसमा अर्घाखाँचीको एक, गुल्मीका २ र रुकुम पश्चिमको एक गाउँपालिका छ ।
रुकुमश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अंक ल्याएर दोस्रो स्थानमा छ । गुल्मीको मालिका गाउँपालिकाले ८१.९८ प्रतिशत र धुर्कोट गाउँपालिकाले ८०.५२ प्रतिशत अंक ल्याएर उत्कृष्ट गाउँपालिकाको सूचीमा अगाडि छन् ।
कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशका अधिकांश स्थानीय तहको अंक कमजोर आएको छ ।
धनुषाको धनौजी गाउँपालिको ३१.८१ अंक पाएको छ । महोत्तरीको सोनमा गाउँपालिकाले ३५ अंक पाएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ३५.१६ अंक पाएको आयोगले जनाएको छ ।
रौतहट फतुवा विजयपुर नगरपालिकाले ३५.४१ अंक पाएको देखिन्छ । सोही जिल्लाको वृन्दावन नगरपालिकाले ३१.६९ अंक पाएको छ । सोही जिल्लाको देवाही गोनाही नगरपालिकाले ३०.९१ अंक पाएको छ । पर्साको धोबिनी गाउँपालिकाले ३२.८८ अंक पाएको देखिन्छ ।