सर्लाही । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशको नेतृत्व गर्न योग्य बन्न मधेशलाई नजिकबाट बुझ्न आवश्यक रहेको बताउँदै यसपटक सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्न लागेको बताएका छन् ।
बुधबार सर्लाही–४ मा आयोजित कार्यक्रममा बोल्दै थापाले आफू शहरमा जन्मिएको, पहाड बुझिसकेको तर मधेशलाई अझै राम्ररी बुझ्न बाँकी रहेको उल्लेख गर्दै यही कारण सर्लाहीबाट चुनावी मैदानमा उत्रिएको बताए ।
उनले भने, 'जुन दिनसम्म मधेश मैले थाहा पाउँदिन, मधेशमा म डुब्दिनँ, मधेशको माटोलाई आफ्नो बनाउँदिन, त्यो दिनसम्म देशको नेतृत्व गर्न योग्य हुँदिन भन्ने ठानेर म यहाँ आएको हुँ ।'
थापाले चुनाव जितेर त्यसपछि बेपत्ता हुने प्रवृत्ति आफ्नो चरित्र नभएको दाबी गरे । कुनै पनि ठाउँबाट निर्वाचित भएर जनताबाट टाढा हुने आफ्नो स्वभाव नरहेको उनको भनाइ छ ।