काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका सम्भावित उम्मेदवारद्वय केपी शर्मा ओली र स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको टिप्पणी गरेका छन् ।
सोमबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले ओली र शाहलाई लक्षित गर्दै धेरै बोल्ने र बोल्दै नबोल्ने प्रवृत्तिबाट देश सञ्चालन हुन नसक्ने बताएका हुन् ।
उनले प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रभावकारी प्रतिनिधित्व गर्न सक्नुपर्ने उल्लेख गर्दै राष्ट्रको नेतृत्व गर्ने पात्रमा परिपक्वता, संयमता र स्पष्ट दृष्टिकोण आवश्यक हुने धारणा राखे ।
उपसभापति शर्माले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ‘तौलेर बोल्ने’ नेता का रूपमा प्रस्तुत गर्दै वर्तमान राजनीतिक बहस वडा अध्यक्षको नभई प्रधानमन्त्रीको भएको बताए ।
उनले आवेगमा आएर “झोक चल्यो भने घर जलाइदिन्छु” जस्ता अभिव्यक्ति दिने शैली प्रधानमन्त्रीका लागि उपयुक्त नहुने टिप्पणी गर्दै नेतृत्वमा जिम्मेवार व्यवहार र धैर्य अनिवार्य हुने उल्लेख गरे ।