काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचारप्रसारका लागि शुभेच्छुकहरूबाट सहयोग संकलन गर्न बाधा नपर्ने बताएका हुन् ।
उनले भने- 'निर्वाचन प्रचारप्रसारको लागि आफूलाई शुभेच्छुक, समर्थकबाट सहयोग लिने विषय छन् । निर्वाचन सहयोग लिने विषय छ । त्यसमा उमेदवारले, दलले मलाई यति सहयोग दिनुपर्छ, भनेर कसैलाई तोकेर माग्न पाइँदैन, स्वेच्छाले दिन चाहन्छौँ भने मेरो खाता नम्बर यो भनेर निर्वाचन प्रयोजनका लागि खोलेको खातामा लिन पाउँछ । '
प्रवक्ता भट्टराईकाअनुसार उम्मेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन्।
उमेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रष्ट पारे ।