काठमाडौं। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्लामा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ।
आयोगले सातै प्रदेश र सबै जिल्लाका निर्वाचन क्षेत्र समेटिने गरी बनाएको मतपत्रको नमूना सार्वजनिक गरेको हो।
आयोगका अनुसार एउटै निर्वाचन क्षेत्र भएका जिल्ला र एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाका लागि फरक-फरक ढाँचाका मतपत्र तयार गरिएको छ। ती नमूना मतपत्र मतदाता शिक्षाका कार्यक्रमहरूमा प्रयोग गरिने उद्देश्य राखिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारको सङ्ख्यालाई आधार मानी मतपत्रको स्वरूप निर्धारण गरिएको जानकारी दिए। उनका अनुसारउम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठुलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुई वटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको नमुना पनि आयोगले सार्वजनिक गरेको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् । ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमुना पनि आयोगले सार्वजनिक गरेको छ ।