काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप गलत दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै ट्रम्पले युरोप सही बाटोमा नरहेको दाबी गरेका हुन् ।
युरोप बिग्रँदै जानुको मुख्य कारण अनियन्त्रित बसाइँसराइ र अन्तहीन विदेशी आयात रहेको ट्रम्पको भनाइ छ। ‘युरोपका कतिपय ठाउँहरू अब चिन्नै नसकिने भएका छन्,’ उनले भने।
ट्रम्पले आफूलाई आवश्यक परे नेटोले सैन्य सहयोग देला कि नदेला भन्नेमा समेत शंका व्यक्त गरे। अमेरिकालाई संकट पर्दा नेटोले साथ दिनेमा आफू ढुक्क नरहेको उनको भनाइ थियो।
डाभोसको मन्तव्यमा उनले भने, ‘हामी उनीहरूका लागि शतप्रतिशत उपलब्ध हुनेछौँ। तर उनीहरू हाम्रा लागि हुनेछन् भन्नेमा म ढुक्क छैन। हामीले खर्च गरेको यति धेरै पैसा, रगत, पसिना र आँसुका बाबजुद पनि उनीहरूले साथ देलान् भन्ने मलाई लाग्दैन। ग्रीनल्यान्डको मुद्दामा उनीहरू पक्कै पनि हाम्रो साथमा छैनन्।’
ट्रम्पको यो मूल्यांकन नेटोको सामूहिक रक्षा सम्झौता (धारा ५) को भावनाविपरीत देखिन्छ। उक्त धाराअनुसार, कुनै एक सदस्य राष्ट्रमाथि भएको आक्रमण सबै सदस्य राष्ट्रमाथि भएको आक्रमण मानिने व्यवस्था छ। इतिहासमा यो धारा सन् २००१ सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाको पक्षमा एकपटक मात्र प्रयोग गरिएको थियो।
यसैबीच, ट्रम्पले बल प्रयोग गरेर ग्रीनल्यान्ड कब्जा गर्ने सम्भावनालाई अस्वीकार गर्दै उक्त विषयमा अनावश्यक अड्कल नलगाउन आग्रह गरे।