काठमाडौं । सहोदर दाजुभाइ नै चुनावी मैदानमा उत्रिएपछि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला डोल्पा पनि यतिबेला चर्चामा छ । बालेन्द्र साह ‘बालेन’ एमाले अध्यक्ष एर्व पूर्वप्रधानमन्त्री केपी आलीसँग प्रतिस्पर्धा गर्न काठमाडौं महानगरपालिकाको प्रमुख पद त्यागेर झापा ५ पुगेपछि चर्चा भएजस्तै डोल्पा पनि यतिबेला चर्चामा नै छ ।
डोल्पाका प्रभावशाली र अनुभवी नेता मानिएका पूर्वमन्त्री धनबहादुर बुढालाई उनैका आफ्नै दाजुले चुनौति दिएपछि डोल्पामा पनि चुनावी सरगर्मी बढेको छ । डोल्पामा एक स्वतन्त्रसहित नौ जनाले मनोनयन दर्ता गराएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरू भने नयाँ–पुराना मिश्रित छन् । त्यतिमात्रै होइन त्यहा गुरु–चेला र लेखापढी व्यवसायीदेखि ट्रेकिङ गाइडसम्म प्रतिस्पर्धी छन् ।
विभिन्न ७ राजनीतिक दलहरूबाट उम्मेदवारी दिएका अधिकांश पुराना नेताहरू छन् । नयाँ र पुराना अनुहारबिच हुने प्रतिस्पर्धालाई यसपटक डोल्पालीले उत्साहका साथ हेरिरहेका छन् ।
डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट पूर्वमन्त्री धनबहादुर बुढा, नेपाली कांग्रेसबाट केन्द्रीय सहमहामन्त्री कर्ण बहादुर बुढा, नेकपा एमालेबाट लंक रोकाया र उज्यालो नेपाल पार्टीबाट दिल बहादुर विष्टले उम्मेदवारी दिएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट देव सिंह ऐडी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हरि डाँगी, मितेरी नेपाल पार्टीबाट जुनु भण्डारी र तत्कालीन माओवादीका नेता ओमेन्द्र केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपाबाट उम्मेदवार बनेका पूर्वमन्त्री धनबहादुर बुढाले आफ्नै दाजुको समाना गर्नु परेको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कर्णबहादुर बुढा धनबहादुरका आफ्नै दाजु हुन् ।
धनबहादुर बुढा डोल्पाका प्रभावशाली र अनुभवी नेताका रूपमा मानिनछन् । बुढा यसअघि २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका व्यक्ति हुन् । चौथो पटक चुनावमा होमिएका उनी बलिया प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
‘क’ श्रेणीका निर्माण व्यवसायी धनबहादुर राजनीतिक अनुभव र संगठनात्मक पकड भएको नेताका रूपमा चिनिन्छन् । राप्रपाको पृष्ठभूमिबाट राजनीतिमा उदाएका उनी २०७० को संविधान सभा निर्वाचन र २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर विजयी भएका थिए ।
त्यति बेला उनले ११ हजार ७ सय ६१ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार अंगद बुढालाई पराजित गरेका थिए । एमाले विभाजन हुँदा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका बुढा ०७९ सालको निर्वाचनमा तत्कालीन एकीकृत समाजवादीबाटै चुनाव लडेका थिए । उनले ११ हजार २ सय ९२ मत ल्याएर विजयी भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाहीलाई ५ हजार ७८७ मतान्तरले पराजित गरेका थिए । पराजित शाहीले ५ हजार ५०५ मत ल्याएका थिए । २०७९ मा नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।
बुढाले २०७० को दोस्रो संविधान सभा निर्वाचनताका राप्रपा छाडेर एमाले प्रवेश गरेका थिए । पछि एमाले पनि छाडेर एकीकृत समाजवादी हुँदै हाल नेकपासम्म आइपुगेका हुन् ।
मामामामा
यता नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कर्णबहादुर भर्खरै मात्र सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित नेता हुन् । २०४८ सालदेखि राप्रपाबाट राजनीतिक सुरु गरेका कर्णले राप्रपाबाटै तीनपटक प्रतिनिधिसभा चुनाव लडेका थिए । तर, तीनै पटक पराजित भए ।
उनी राप्रपामा तीनपटक निर्वाचित केन्द्रीय सदस्य र एक पटक सहमहामन्त्री मनोनीत भएका थिए । कर्णबहादुर २०५१ सालमा काँग्रेसकै बागी उम्मेदवार मोतीप्रसाद पहाडीसँग पराजित भएका थिए । त्यसपछि २०५६ सालमा एमालेका नरबहादुर बुढाथोकी र २०६४ सालमा तत्कालीन माओवादीका रामबहादुर बोहरासँग पराजित भएका थिए ।
राप्रपाबाट २०७६ सालमा कांग्रेसमा केन्द्रीय सदस्यको रूपमा प्रवेश गरेका बुढा अहिले सहमहामन्त्री छन् ।
नेकपा एमालेबाट उम्मेदवार बनेका लंक जिल्ला पार्टी कमिटी अध्यक्ष हुन् । विद्यार्थी राजनीति हुँदै जिल्ला पार्टीको नेतृत्वमा पुगेका हुन् । २०७४ र २०७९ मा मुड्केचुला गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका उनी दुवै पटकको निर्वाचनमा पराजित बनेका थिए ।
२०७४ मा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार दत्त शाहीसँग झिनो मतान्तरले पराजित बनेका उनी २०७९ मा पनि उनै शाहीसँग ३७ मतले पराजित भए । दुई पटकको हार हुँदा पनि नथाकेका लंकलाई यो पटक एमालेले डोल्पाबाट प्रतिनिधि सभा उम्मेदवार बनाएको छ ।