काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहबीच ४ बुँदे राजनीतिक सहमति भएको छ।
बिहीबार काठमाडौँको माइतीघर मण्डलामा भएको छलफलपछि दुवै पक्षबीच सहमति कायम भएको हो।
सहमतिपत्रमा नेकपा (माओवादी) का महासचिव विप्लव र जेनजी अभियन्ता ढुंगानाले हस्ताक्षर गरेका छन्। पछिल्ला दिनदेखि ढुंगाना नेतृत्वको समूह माइतीघर मण्डलामा निरन्तर धर्नामा बस्दै आएको थियो।
सहमतिमा मुलुकको वर्तमान राजनीतिक संकट समाधानका लागि सर्वपक्षीय सहमति जुटाउँदै अन्तरिम सरकार गठनका लागि संयुक्त संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।
साथै जनआन्दोलन र जनताको चाहनाअनुसार संविधान संशोधन गरी स्थिर सरकार गठन गर्ने विषय पनि सहमतिपत्रमा समेटिएको छ।
त्यसैगरी, जेनजी विद्रोहले उठाएका मागहरू पूरा गर्न साझा संघर्ष गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि आन्दोलन अगाडि बढाउने विषयमा दुवै पक्ष सहमत भएका छन्।