काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षको कारबाहीमा परेका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा परिवर्तन भएको कांग्रेसलाई लिएर जाऊँ भन्दा सभापति शेरबहादुर देउवाले नमानेको बताएका छन् ।
देउवा पक्षको केन्द्रीय कार्यसमितिले पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले सभापति शेरबहादुर देउवाको सट्टा जो भए पनि परिवर्तन गरेर चुनाव जानुपर्ने माग मात्रै आफूहरू रहेको बताए ।
गगन थापालाई नै प्रधानमन्त्रीको उम्मेदवार वा सभापति बनाएर जानुपर्छ भन्ने विशेष महाधिवेशन पक्षधरको कुनै अडान नरहेको उल्लेख गर्दै उनले शेखर कोइराला वा पूर्णबहादुर खड्का वा जो सुकैलाई भए पनि अगाडि सार्दा आफू तयार नै भएको बताए ।
उनले भने–‘विशेष महाधिवेशनको हलबाट कसलाई बनाउने हो बनाऊँ भनेर भनेको हुँ । फागुन २१ गते निर्वाचनमा जाँदा कांग्रेसले भदौ २३ अघिका केही कुरा बिर्सिएर आएको छ भनेर जनतामाझ जाँदा भन्न सकियोस् भन्ने मात्रै हो । म सभापति बन्ने कुरासँग जोडिएको कुरा नै होइन । शेखर, पूर्णबहादुर जोलाई बनाए पनि हुने थियो । म त अहिले महामन्त्री छु । विश्वप्रकाश शर्मा महामन्त्री छ । हामीले चुनाव लड्छौँ भन्दै गर्दा ६–७ ठाउँबाट चुनाव लड्न आउनुहोस् भनेका थिए । हाम्रो बारेमा चिन्ता नै होइन । तर उहाँहरुलले मान्नु भएन ।’
२४८८ महाधिवेशन प्रतिनिधिले गरेको निर्णय नै अब आधिकारिक कांग्रेस हुने उनको भनाई थियो । देशभरका नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै थापाले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता विशेष महाधिवेशनलाई नै दिने प्रष्ट पारे ।
उनले भने–‘म यो मञ्चबाट विश्वास र भरोसा दिलाउन चाहन्छु, संविधान कानून र पार्टीको विश्वासको आधारमा म भन्छु कि यो विशेष महाधिवेशनले जे निर्णय गर्छ निर्वाचन आयोगले त्यसलाई नै मान्छ । रुख चिह्नको कुरै छैन, सिंगो कांग्रेस नै यहाँ छ भने चिह्न र झण्डाको चिन्ता किन गर्ने ?’
थापाले अब निर्वाचन प्रक्रिया अघि बढेकाले सकेसम्म सर्वसम्मत कार्य समिति चयन गर्न सघाउन आग्रह पनि गरे ।