काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।
आज बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको बैठकमा नजाने निर्णय गरिएको विशेष महाधिवेशन पक्षधर नेताहरूले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
पार्टीभित्र विशेष महाधिवेशनपछि विवाद झनै चर्किएको छ। संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै अस्वीकार गरेका छन् भने विशेष महाधिवेशन पक्षधरहरूले भने नेतृत्व र नीति चयन गर्ने अधिकार महाधिवेशनलाई नै भएको दाबी गर्दै अघि बढ्ने अडान लिएका छन् ।
कांग्रेसभित्र दुई स्पष्ट धार देखिएसँगै पार्टीको केन्द्रीय निर्णय प्रक्रिया नै प्रभावित हुने अवस्था आएको छ। विशेष पक्षको बैठक बहिष्कारलाई संस्थापन पक्षमाथि दबाब सिर्जना गर्ने रणनीतिका रूपमा हेरिएको छ।
यसैबीच, पार्टीभित्रको विवाद समाधानका लागि आजै संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुने बताइएको छ। तर, वार्ताको मिति र स्थान भने अझै तोकिएको छैन।