काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षधरहरूले शेरबहादुर देउवा पक्षसँग वार्ता गर्न समिति गठन गरेका छन् ।
सोमबार नेता प्रदीप पौडेलको नेतृत्वमा मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे रहने गरी समिति गठन गरिएको हो । समितिले देउवा पक्षसँग संवाद गरी सहमति जुटाउने प्रयास गर्ने बताइएको छ ।
कांग्रेसको विशेष महाधिवेशन देउवा पक्षको असहयोगका बीच दुई दिनदेखि काठमाडौँमा जारी छ ।
विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिहरू सहभागी छन् भने, पक्षधरहरूले नयाँ नेतृत्व चयनसहितको कार्यतालिका बनाइसकेका छन् ।
विशेष महाधिवेशन पक्षधरहरूले सोमबार विभिन्न नेताहरूसँग संवाद गर्दै आफ्नो भावनाका आधारमा सात बुँदे प्रस्ताव पेश गरेका छन् ।
प्रमुख बुँदाहरू यसप्रकार छन् :
१. विशेष महाधिवेशनको राजनीतिक स्वामित्व नेपाली कांग्रेस केन्द्रीय समितिले लिनुपर्ने।
२. महाधिवेशनमा संकलित सुझाव र प्रस्तावहरू केन्द्रीय समितिले ग्रहण गर्ने।
३. आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुनै गठबन्धन नगर्ने।
४. उम्मेदवार चयनका लागि विधानअनुसार संसदीय बोर्ड गठन, जसमा पक्षधरहरूको सम्मानजनक उपस्थिति सुनिश्चित।
५. उम्मेदवारका टिकट वितरण न्यायोचित र पारदर्शी हुनुपर्ने।
६. टिकट वितरणमा सभापति देउवाको सट्टा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने।
७. विशेष महाधिवेशनको समापन सत्रमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइराला उपस्थित भएर सहमतिसमेतको स्वामित्व लिनुपर्ने।