एजेन्सी । इरानमा जारी सरकारविरोधी प्रदर्शनमाथि दमन चर्किएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित सैन्य आक्रमणबारे ह्वाइट हाउस र पेन्टागनका शीर्ष अधिकारीहरूसँग गोप्य ब्रिफिङ लिएको खुलासा भएको छ ।
अमेरिकी अखबार द न्यूयोर्क टाइम्स का अनुसार ट्रम्पले पेन्टागनका वरिष्ठ सैन्य अधिकारी, राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रिय सुरक्षा परिषद्का अधिकारीहरूसँग इरानको अवस्थाबारे विस्तृत छलफल गरेका हुन् ।
ब्रिफिङमा इरानमाथि सम्भावित सैन्य कारबाहीका नयाँ विकल्पहरू प्रस्तुत गरिएको बताइएको छ।
इरानमा दुई सातादेखि जारी प्रदर्शन नियन्त्रणमा नआएको, प्रदर्शनकारीमाथि सुरक्षा निकायले गोली चलाएको र दमन तीव्र बनेको खबर सार्वजनिक भइरहेका बेला ट्रम्पले यस्तो ब्रिफिङ लिएका हुन्।
प्रदर्शन इरानी मुद्राको तीव्र अवमूल्यन, बढ्दो महँगी र सरकारको कमजोर आर्थिक नीतिको विरोधमा सुरू भएको हो, जुन अहिले देशव्यापी आन्दोलनमा रूपान्तरित भएको छ।
ब्रिफिङका क्रममा तेहरानका गैरसैनिक ठेगानाहरूलाई निशाना बनाउनेदेखि हिंसासँग प्रत्यक्ष जोडिएका सुरक्षा निकायसम्बद्ध लक्ष्यहरूमाथि कारबाही गर्ने विकल्पसम्म छलफल भएको न्युयोर्क टाइम्सले जनाएको छ। यद्यपि ट्रम्पले हालसम्म इरानमाथि सैन्य आक्रमण गर्ने अन्तिम निर्णय भने गरिसकेका छैनन्।