धनगढी । सुदूरपश्चिम प्रदेशमा २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीमध्ये अझै साढे तीन सयभन्दा बढी पक्राउ पर्न बाँकी छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ३५२ जना कैदीबन्दी फरार अवस्थामा छन् ।
प्रदेश प्रहरी कार्यालय धनगढीले दिएको जानकारीअनुसार फरार रहेका कैदीबन्दीमध्ये ३३३ जना पुरुष र १९ जना महिला छन् । सबैभन्दा धेरै कैलाली कारागारबाट भागेका २२९ जना कैदीबन्दी अझै पक्राउ पर्न बाँकी रहेका छन् ।
त्यस्तै, कञ्चनपुर कारागारबाट ९७ जना, बाल सुधार गृह डोटी र बझाङ कारागारबाट १२–१२ जना, दार्चुला कारागारबाट ६ जना, डडेल्धुरा कारागारबाट ५ जना र बैतडी कारागारबाट एक जना कैदीबन्दी फरार अवस्थामा रहेको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनका बेला सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारबाट कुल एक हजार ४५८ जना कैदीबन्दी भागेका थिए । तीमध्ये हालसम्म प्रहरीले एक हजार ९४ जनालाई पक्राउ गरी पुनः कारागार फर्काइसकेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले फरार कैदीबन्दीको खोजी अभियान निरन्तर जारी रहेको बताएका छन् ।
उनका अनुसार प्रदेश प्रहरी कार्यालयमा डीएसपी र जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा छुट्टाछुट्टै टोली गठन गरी अभियानकै रूपमा खोजी कार्य सञ्चालन भइरहेको छ।