Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निधिमाथि कार्यालय पुग्दैगर्दा भएको व्यवहार विल्कुलै गलत : विश्वप्रकाश शर्मा

निधिमाथि कार्यालय पुग्दैगर्दा भएको व्यवहार विल्कुलै गलत : विश्वप्रकाश शर्मा

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गर्दै त्यसलाई गलत र निन्दनीय भनेका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमा प्रकाशित आफ्ना अभिव्यक्तिमा महामन्त्री शर्माले निधिमाथि विशेष महाधिवेशन पक्षधरले दुर्व्यवहार गरेको भन्ने आरोपलाई स्पष्ट खण्डन गरेका छन् ।

उनले भनेका छन्, 'कुनै पनि नेतासँग कसैको पनि समर्थन वा विरोधको सम्बन्ध हुन सक्छ, तर त्यो निश्चित मर्यादाभित्र रहनुपर्छ। समर्थन गरिरहँदा देवत्वकरण र विरोध गर्दा अप्रिय टिप्पणी गर्ने कार्य हाम्रो राजनीतिको दुःखद र गलत पाटो हो। आज अग्रज नेता निधि कार्यालय आउँदा भएको व्यवहार पूर्णरूपमा गलत हो।'

शर्माले विशेष महाधिवेशन पक्षधरले पार्टी कार्यालय घेराउ गरेको भन्ने हल्ला भ्रामक भएको पनि दाबी गरेका छन् । उनले स्पष्ट पारे, 'विशेष महाधिवेशन पक्षधरले होइन, अन्यले यस्तो गरेको बुझियो। तथापि साथीहरूले तत्काल सार्वजनिक रूपमा यसबारे स्पष्ट गरिसकेका छन्।'

महामन्त्री शर्माले राजनीतिमा सहमति, असहमति, समर्थन र विरोध हुनु स्वाभाविक भए पनि संयम, परिपक्वता र मर्यादाको उच्चतम स्तर आवश्यक रहेकोमा जोड दिएका छन्।

उनले पार्टी कार्यालयमा मिडिया बाहेक अरुलाई प्रवेश निषेध गर्ने परम्परा रहेकाले उत्पन्न समस्या बुझ्न नसक्दा बाहिरबाट विवाद सृजना भएको पनि बताएका छन् ।

'राष्ट्रिय सभाको उम्मेदवारी चयन सम्बन्धी बैठकको कारण आज पनि अरुलाई प्रवेशमा रोक लगाइएको थियो। कतिपय साथीहरूले यो नबुझ्दा बाहिर व्यर्थ समस्या उत्पन्न भयो,' शर्माले भने ।

मंगलबार दिउँसो विशेष महाधिवेशनको माग गर्दै आएका समूहले कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाहिर निधिमाथि दुर्व्यवहार गरेका थिए ।

निधि कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय गइरहेका बेला ‘विमलेन्द्र निधि मुर्दावाद’ जस्ता नारा समेत लगाइएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077