काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभबीच शिष्टाचार भेट भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न भेटमा देश तथा मधेस प्रदेशका समसामयिक राजनीतिक, सामाजिक र सुरक्षा विषयमा गहन छलफल भएको थियो।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले मधेस प्रदेशमा देखिएका राजनीतिक जटिलता समाधान गर्न प्रदेश प्रमुख लाभले निर्वाह गरेको अभिभावकीय भूमिकाको खुलेर प्रशंसा गरिन्। पछिल्ला दिनमा मधेसमा देखिएका सामाजिक समस्या समाधानमा पनि सोही भूमिकालाई निरन्तरता दिन उनले आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘मधेस प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि तपाईंले जुन अभिभावकीय भूमिका निर्वाह गर्नुभयो, त्यो प्रशंसनीय छ। आगामी दिनमा पनि समाजका सबै पक्षलाई समेट्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न यस्तै भूमिका खेल्नुहुनेछ भन्ने विश्वास छ।’
आउँदो फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारी तीव्र भइरहेका बेला सम्भावित चुनौतीप्रति सचेत रहनुपर्नेमा प्रधानमन्त्रीले जोड दिइन्।