काठमाडौं । टीकापुर हत्याकाण्डको मुद्दामा आममाफी पाएका रेशमलाल चौधरीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइका लागि सोमबार पेशी तोकिएको हो ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ ।
७ भदौ २०७२ मा टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच भएको हिंसात्मक झडपमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक नाबालकको निर्मम हत्या भएको थियो । गम्भीर घाइते भएका एक प्रहरीको पछि उपचारका क्रममा निधन भएको थियो ।
टीकापुर हत्याकाण्डका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई तीन तहकै अदालतले टीकापुर हत्याकाण्डका मुख्य दोषी मानेको थियो । जिल्ला र उच्च अदालतले गरेको जन्मकैदको सजाय सर्वोच्च अदालतले पनि सदर गरेको थियो । तर राजनीतिक सौदाबाजी गरेर सरकारले रेशमलाई जेलमुक्त गरेको थियो ।
चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडा तले सर्वोच्च अदालतमा रिट हालेकी थिइन् । दुई वर्षदेखि सुनुवाइ हुन नसकेको चौधरीको माफीविरुद्धको रिट सुनुवाइका लागि आज पेसी तोकिएको हो ।
आममाफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते कडा तले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकोमा सो मुद्दामा २०८० जेठ २३ गते तत्कालीन न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो । सरकारका विभिन्न निकायले साउन ८ भित्रै सर्वोच्चमा लिखित जवाफ पेस गरेको भएपनि आज बल्ल सुनुवाइको पेसी तोकिएको हो ।