Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऊर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

ऊर्जामन्त्री घिसिङलाई तुरुन्त बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

आइतवार , पौष २०, २०८२

काठमाडौं । जेनजी मुभमेन्ट, नेपालले ऊर्जामन्त्री कुलमान घिसिङ र प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ।

सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारका पदाधिकारीहरू खुलेआम राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोप लगाउँदै मुभमेन्टले सरकारको दलनिरपेक्ष चरित्रमाथि गम्भीर प्रश्न उठाएको हो ।

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा, आफूलाई नागरिक र दलनिरपेक्ष सरकारका रूपमा प्रस्तुत गर्ने सरकारले आफ्नै पदाधिकारीलाई पार्टीगत गतिविधिमा खुला रूपमा संलग्न हुन दिएको तथ्यले “यो सरकार वास्तवमा कसको हो ?” भन्ने प्रश्न नेपाली जनतामाझ गहिरिँदै गएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भाद्र २३ गते नवोदित पुस्ताले पवित्र उद्देश्यका साथ सुरु गरेको विद्रोहलाई भाद्र २४ गते सुशीला कार्की नेतृत्वको समूहले ‘अपहरण’ गरी देशलाई अराजकतातर्फ धकेलेको आरोप लगाइएको छ। शीतल निवास, सर्वोच्च अदालत, सिंहदरबारलगायत संवेदनशील स्थानमा आगजनी, तोडफोड र हिंसात्मक गतिविधि हुँदा मुलुक राज्यविहीनताको खतरनाक अवस्थामा पुगेको दाबी गरिएको छ।

ऊर्जामन्त्री कुलमान घिसिङमाथि भारतसँग गरिएको विद्युत् सम्झौताका कारण नेपाललाई करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक घाटा पुर्‍याएको, नियमनकारी निकायको स्वीकृतिबेगर कमिसनको खेलमा संलग्न भई राज्यलाई गम्भीर नोक्सान पुर्‍याएको आरोप पनि लगाइएको छ। विज्ञप्तिमा यसलाई नीतिगत त्रुटि मात्र नभई 'राज्यविरुद्धको आर्थिक अपराध' को संज्ञा दिइएको छ।

जेनजी मुभमेन्टले घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भइसकेको उल्लेख गर्दै कुनै पनि राजनीतिक संरक्षण नदिई निष्पक्ष छानबिन र कडा कानुनी कारबाही गर्न माग गरेको छ। दोषी ठहर भए उनलाई कालकोठरीमा राख्नुपर्ने मागसमेत गरिएको छ।

प्रवक्ता शाहले चेतावनी दिँदै भनेका छन्, 'नागरिक सरकारको नाममा सत्ता कब्जा गर्ने, पदको दुरुपयोग गर्ने र भ्रष्टाचारलाई संरक्षण दिने कार्य अब सह्य हुने छैन। कुलमान घिसिङ र गोविन्द नारायणलाई तुरुन्त बर्खास्त नगरिए अझ सशक्त, संगठित र निर्णायक जनप्रतिरोध अघि बढाइनेछ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077