काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई समानुपातिक सूचीमा आफूले नराखेको स्पष्ट पारेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै थापाले केसीलाई सूचीमा राख्न आफ्नो भूमिका रहेको भन्ने प्रचार निराधार भएको बताएका हुन् ।
‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ,’ थापाले लेखेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु—यो मेरो चाहनाविपरीत हो। मेरो अनुरोध र हर सम्भव प्रयासविपरीत गरिएको निर्णय हो।’
केसी आफ्ना ससुरा भएको स्मरण गराउँदै थापाले पारिवारिक सम्बन्धका आधारमा राजनीतिक निर्णय गरिएको भन्ने आरोपलाई अस्वीकार गरे। उनले पार्टीभित्र नेताहरूबीच राजनीतिक दृष्टिकोण फरक हुन सक्ने भन्दै लोकतान्त्रिक प्रक्रियामा मतभिन्नता स्वाभाविक भएको उल्लेख गरे।
थापाले विगतमा महामन्त्री पदका लागि फरक–फरक एजेन्डासहित प्रतिस्पर्धा गरेको उदाहरण दिँदै भने, ‘मेरो र उहाँको आ–आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्।’