काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् ।
बिहीबार क्रिसमस डेको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् । उनले यस्ता पर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि हुने बताए ।
राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘'प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन रहेको यस पर्वमा मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा इतिहास र संस्कृति जोगाउँदै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवर्द्धन गर्न यस दिनले प्रेरणा प्रदान गर्ने अपेक्षा गरिन्छ ।’'
इसाई धर्मका अनुयायीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्षको डिसेम्बर २५ लाई धार्मिक एवम् साँस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ ।
नेपालमा यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्वलाई मनाउने गरिएको छ ।