काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालयमा प्रहरीसहितको बिशेष टार्स फोर्स गठनको तयारी गरेका छन्।
खासगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरुमाथि हुने ठगीलाई रोक्न उनले यस्तो टाक्स फोर्स गठन गर्न लागेका हुन्।
स्रोतका अनुसार उनले यससम्बन्धि प्रस्ताव अघि बढाइसकेका छन्। तर, यसका लागि कर्मचारीले सहयोग नगरेको गुनासो छ। मन्त्रालयमा प्रहरी ल्याउँदा कर्मचारीको मनोबल खस्कने भन्दै सचिव कृष्णहरी पुष्कर लगायतले उनलाई असहयोग गरिरहेका छन्। जसकारण मन्त्री भण्डारीले सचिव हटाउनेबारे छलफल थालेका छन्।
भण्डारी नेपाल प्रहरीका पूर्वएआइजी हुन्। कर्मचारीले भन्दा प्रहरी अनुशासित हुने र इमान्दारीताका साथ काम गर्ने उनको बुझाई छ। सोही कारण मन्त्रालयमा प्रहरी टोली ल्याएर उनले सुधारको काम अघि बढाउन खोजेका हुन्। तर, कर्मचारीसँग उनको ट्युनिङ मिल्न सकेको छैन ।
त्यसो त पदभार ग्रहणकै दिन उनले कर्मचारीलाई हप्काएका थिए।
सचिव पुष्करले सुधारका लागि कार्यदल गठनसम्बन्धि प्रस्ताव हस्ताक्षरका लागि लगेका थिए। त्यो फाइलमा हस्ताक्षर नगरी एक्सन प्लान ल्याउन निर्देशन दिएक थिए। कडा स्वभावका मन्त्री भण्डारीको कर्मचारीसँग टसल पर्ने सम्भावना देखिएको छ।