जनकपुरधाम। मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् ।
सोमबार प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै उनले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने बताए ।
उनले भने- 'मतभेद स्वाभाविक हो । तर, सहकार्य अपरिहार्य छ । प्रदेशको हितका लागि सबै दलसँग समन्वय गर्दै अघि बढ्ने उनको भनाइ छ ।'
सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढावा दिने समेत बताए ।
मधेशका मुद्दा समावेशिता, सुशासन, शिक्षा र स्वास्थ्यको पहुँच, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रका चुनौतीलाई संसदीय कार्यसूचीमा प्राथमिकताका साथ उठाइने उनले उल्लेख गरे ।
सात दलीय गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालबाट यादव आइतबार सभामुखमा निर्वाचित भएका थिए । यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए ।