काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा 'स्मार्ट सडकबत्ति' जडान गरिएको छ ।
टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबत्ति‘ जडान गरिएको हो ।
उक्त सडकबत्तिको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे । स्मार्ट सडक बत्ती को शुभारम्भ गर्दै नगरप्रमुख अधिकारीले उज्यालो टोखा निर्माण गर्ने आफ्नो प्रतिबद्धता पुरा भएको बताए ।
उनका अनुसार सामाखुसीदेखि झोर, नयाँ बसपार्कदेखि भत्केको पुल, साउथ वेस्टन कलेजदेखि धापासी हाइट र दाहालगौँडादेखि ग्रीनल्याण्ड क्षेत्रमा सडकबत्ति जडान गरिएको छ ।
टोखा नगरपालिकाले २०८१ पुस २४ गते टोखाभित्रका मुख्य सडकमा यातायात व्यवस्था प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्त दुरुस्त राख्न सडकबत्ति जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको थियो ।
उक्त सम्झौताअनुसार टोखामा सडकबत्ति जडान गर्न नगरपालिकाले ६५ प्रतिशत र प्राधिकरणले ३५ प्रतिशत रकम व्यहोर्ने उल्लेख गरिएको थियो । सम्झौता अनुसार टोखा नगरपालिकाले रु दुई करोड ८४ लाख ८३ हजार र प्राधिकरणले रु एक करोड ५३ लाख ३७ हजार लगानी गर्ने उल्लेख छ ।