काठमाडौं । नेपाली कांग्रेसको सुधार अभियान (४० वर्ष मुनि) ले आज ७७ वटै जिल्लामा नयाँ जिल्ला संयोजक तोकेको छ ।
अभियानले पार्टीभित्र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न र ४० वर्ष मुनिका नवयुवालाई नेतृत्वतर्फ आकर्षित गर्न यो कदम उठाएको हो ।
अभियानका संयोजक शिव रिमालका अनुसार पार्टीको सबै तहमा ४० वर्ष मुनिका युवालाई ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नु अभियानको मुख्य उद्देश्य हो । केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि यही अनुपात कायम गर्नुपर्ने माग छ ।
उनी थप्छन्, “सुधार अभियानमार्फत हामी भ्रष्टाचारका विरुद्ध सचेतना फैलाउने, सुशासन प्रवर्द्धन गर्ने, र उम्मेदवार छनोटमा पारदर्शी ‘प्राइमरी इलेक्सन’ प्रणाली लागू गर्ने प्रयासमा छौं।”
अभियानले लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि नयाँ बहस, पैरवी र खबरदारीको माध्यमबाट पार्टीभित्र र समुदायमा सशक्त योगदान पुर्याउने लक्ष्य लिएको रिमालले जानकारी दिएका छन् ।
यसरी ७७ वटै जिल्लामा संयोजकको चयनसँगै कांग्रेस सुधार अभियानले युवा नेतृत्व सशक्तिकरणमा नयाँ पाटो थपेको छ ।