काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र व्यवसायी राजेन्द्र शाक्यको बैंकिङ कसूर मुद्दाको अनुसन्धानका लागि दुई दिन म्याद थप गरेको छ।
उच्च अदालत पाटनको वाणिज्य इजलासका न्ययाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले आइतबार विहान १० बजे उनीहरूलाई उपस्थित गराउने गरी सीआईबीलाई दुई दिन म्याद थप हुने आदेश गरेको हो ।
बैंकिङ कसुरको अभियोगमा सिआईबीले पक्राउ गरेका शेरचनसहितका उनीहरुमाथि बैंकिङ कसुरको मुद्दा नै आकर्षित नहुने कानून व्यवसायीहरुले जिकिर गरेका छन् ।
शेरचनको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायधिवक्ताद्वय रमण श्रेष्ठ र रमेश बडाल तथा डा. तपन कुमार दाहाललगायतले वहस गरेका थिए ।
वरिष्ठ अधिवक्ता थापाले राष्ट्र बैंक ऐन अनुसार बैंकिङ कसुरको मुद्दा नै आकर्षित नहुने हुँदा सीआईबीले प्रभु बैंकका सीइओ अशोक शेरचनलाई पक्राउ गरेर स्टन्ट देखाउन खोजेको उल्लेख गरेका थिए ।
प्रभु बैंकले राष्ट्र बेंकको नियम अनुसार कुनैपनि हानी नोक्सान नपुर्याएको हुँदा शेरचनमाथि बैंकिङ कसुरमा कारबाही गर्नु न्यायोचित नहुने पनि बहसका क्रममा उल्लेख गरे ।
त्यसैगरी कानून व्यवसायी डा. तपन दाहालले बैंकले सबै कुरा कानूनसम्मत गरेको हुँदा राष्ट्र बैंकले डिफल्ट घोषणा नगरी सीआईबीले कारबाही गर्न नसक्ने बताएका थिए ।
अधिवक्ता दाहालले गुण एयरका मालिक राजेन्द्र शाक्यले ऋण तिरिरहेको अवस्थामा पनि पक्राउ गरेर मुद्दा चलाउनुलाई कर्जा दुरुपयोगको रुपमा लिनु नहुने भन्दै सीआईबीको कारबाही कानूनसम्मत नभएको थप जिकिर गरेका थिए ।
पूर्वएसपी समेत रहेका डा. दाहाल उनै व्यक्ति हुन्, जो सीआईबीमा हुँदा अनुसन्धानमा पोख्त अधिकारीको रुपमा पहिचान बनाएका थिए ।
सीआईबीले प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोपमा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको थियो ।
स्रोतका अनुसार शेरचनलाई बैंकिङ कसुरको मुद्दामा फसाउन प्रभु बैंकसँग मर्जर भएको सेञ्चुरी बैंकका रमेश श्रेष्ठको समूह सक्रिय भएर लाग्दै आएको थियो । श्रेष्ठको समूहले प्रधानमन्त्री सुशीला कार्कीका स्वकिय सचिव आदर्श श्रेष्ठमार्फत सीआईबीका अधिकारीहरूलाई दबाब दिएको स्रोत बताउँछ ।
राष्ट्र बैंकबाट भएको निर्देशन तथा प्रचलित कानूनविपरीत काम गरी प्रभु बैंकलाई हानीनोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूका नाममा करोडौं रकम कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गर्ने, गराउने कसुरमा संलग्न रहेको भन्दै सीआईबीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् । ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।