काठमाडौं । नेकपा (संयुक्त) ले आगामी माघ ३ र ४ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरूमा आएको सैद्धान्तिक विचलनका कारण कम्युनिष्ट आन्दोलनलाई पुनःगठन गरी शक्तिशाली बनाउन सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेताका रूपमा घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइरालालाई मनोनयन गर्ने निर्णय गरेको बताउँदै नेता भुसालले पार्टीका अन्य दस्तावेज र विधानहरू पनि तयार गर्न आफ्नो नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको बताए।
मुलुक भूराजनीतिको चपेटामा परेकाले अहिले गम्भीर सङ्कटमा फसेको उल्लेख गर्दै उनले सबै देशभक्त, लोकतान्त्रिक शक्ति, राष्ट्रवादी र कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।