काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देश विकासका लागि सडकको हुलदंगाभन्दा जनताले दिने लोकतान्त्रिक म्यान्डेट नै निर्णायक हुने बताएका छन् ।
जेनजीका विभिन्न समूहले दैनिक सिंहदरबारमा धकेला–धकेल र प्रदर्शन गरिरहेका बेला मन्त्री पुनले युवालाई चुनावमार्फत नेतृत्व परिवर्तनमा ध्यान दिन आग्रह गरेका हुन् ।
मन्त्री पुनका अनुसार, अहिलेको राजनीतिक अवस्थालाई सुधार्ने मुख्य बाटो आगामी फागुन २१ गते हुने आम निर्वाचनमा युवाहरूलाई नेतृत्वमा ल्याउनु हो ।
'सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले बुझ्नु जरुरी छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'भविष्य उज्यालो बनाउने एक मात्र उपाय भनेकै धेरैभन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा, लोभीपापी र स्वार्थी नेतृत्वलाई बिदा गर्नु हो।'
मन्त्री पुनले देशका धेरै संयन्त्रहरू बुढा राजनीतिक नेतृत्व र उनीहरूलाई घेरेका स्वार्थी समूहका कारण कमजोर भएको आरोप लगाए।
'बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहले घेरिएका रहेछन्, जसले देशको संयन्त्र बर्बाद पारेका छन्,' उनले उल्लेख गरेका छन्, 'यो अवस्थामा देश कसरी बन्छरु अन्तिम उपाय त पूर्ण क्रान्ति पनि हुन सक्छ।'
हाल प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने माग राख्दै जेनजीका समूहहरू दिनहुँ सिंहदरबार गेटमा पुग्ने गरेका छन्। भेट्न नपाएपछि उनीहरूले गेटमै नाराबाजी र धकेला–धकेल गरी अवस्थालाई तनावपूर्ण बनाउने गरेका छन् ।