काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले देशलाई थप द्वन्द्व र हिंसाबाट बचाउन सबै पक्षलाई संयमित हुन आग्रह गरेकी छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले वर्तमान परिस्थितिमा विवेक, धैर्यता र शान्ति आवश्यक रहेको बताउँदै राजनीतिक दलदेखि आम युवासमुदायसम्मलाई संयमता अपनाउन आह्वान गरेकी हुन् ।
फेसबुकमा लेख्दै बमले भनिन्, 'हामीले धेरै विध्वंस देखिसक्यौँ, नरसंहार भोगिसक्यौँ। अब यो देशले कसैको पनि एक थोपा रगत थेग्न सक्दैन।'
उनका अनुसार देशको वर्तमान र भविष्य बोकेका युवाहरू अहिले संवेदनशील घडीमा छन्, र उनीहरूको संयमता नै राष्ट्रका लागि मुख्य शक्ति बन्न सक्छ। उनले भदौ २३ घटनाबारे न्याय पाउनुपर्ने विषयमा कुनै दुईमत नभएको स्पष्ट पार्दै, न्यायोचित आवाजमा सबै एकसाथ उभिएको बताइन्।
तर उनले विद्रोहपछि विवेक आवश्यक हुने उल्लेख गर्दै लेखिन्, 'साथीहरू, विद्रोहपछि विवेक महत्त्वपूर्ण हुन्छ है।'
बमले राजनीतिक दलका शीर्ष नेता र आम युवा दुवैलाई शान्ति र संवेदनशीलता अपनाउन अपिल गर्दै भनिन्, 'यसबेला नेपाल आमा शान्ति चाहन्छिन्।' बमको यो अभिव्यक्ति हालै सिमरा घटनापछि उत्पन्न तनावलाई लक्षित गर्दै आएको हो ।