काठमाडौं । सोमबार मध्यराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न पुगेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो जिल्ला प्रहरी परिसरमा प्रसाईं भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन्।
प्रसाईंलाई पक्राउ गरिएको विरोध गर्दै केही व्यक्तिहरु उनलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।
उनीहरु विभिन्न बहानामा त्यहाँ पुगेको भन्दै सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार कोही चालक, कोही सहयोगी, कोही आफन्त, कोही सुभचिन्तक भन्दै भेट्न पुगेका थिए ।
प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए ।
निरन्तर सार्वजनिक शान्ति खलल पुर्याउने गरी केहि व्यक्तिहरुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सरकारले प्रसाईँलाई पक्राउ गरेको थियो ।
आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ४ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ।
उनको गिरफ्तारीपछि समर्थक तथा नागरिक बचाउ दलका कार्यकर्ताले प्रदर्शन गर्ने सम्भावना रहेकाले उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।