काठमाडौं । नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको हो । तत्कालीन सचिव लेखबहादुर कार्कीको बयानका आधारमा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौता बदनीयत देखिएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ।
कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता ४६०५ समेत थप गरी लिजमा दिने कार्य गरेको सीआईबीको दाबी छ।निर्माण अवधि ३ वर्षसहित ३० वर्षको लागि लिजमा दिने सम्झौता गर्दा नेपाल ट्रष्टको कार्यालयलाई दिर्घकालिन हानी नोक्सानी पुर्याएको आरोप छ। २०७४जेठ १४ गते करार सम्झौता भएको थियो।
सिआइबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार कार्कीले नेपाल ट्रष्ट, नेपाल सरकार, विभिन्न सार्वजनिक संस्था तथा सरकारी कर्मचारीसमेतलाई हानी हुने गरी ठगी, आपराधिक विश्वासघात र राज्यसम्पत्तिमा दुरुपयोग जस्ता गतिविधि गर्दै आएको देखिएको छ ।
यसै आधारमा शुक्रबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि कार्कीलाई पक्राउ गरिएको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । यसअघि तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।