काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो ।
काठमाडौं महानगरपालिका -१ दरबारमार्गस्थित नेपाल ट्रस्टको नाममा दर्ता जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने क्रममा गैरकानुनी रूपमा लाभ लिएको आरोपमा चितवनको भरतपुर महानगरपालिका– १५ बस्ने ६६ वर्षीया कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार पक्राउ गरेको थियो ।
उनीमाथि ठगी, आपराधिक विश्वासघात र नेपाल ट्रस्टको जग्गा लिजसम्बन्धी अनियमितता प्रकरणमा संलग्न रहेको आरोप छ।
नेपाल ट्रस्ट र उक्त कम्पनीबीच लिज सम्झौता हुँदा कित्ता नम्बर ४६०६ को जग्गा मात्रै दिइने उल्लेख थियो। तर कार्कीले थप कित्ता नम्बर ४६०५ को जग्गासमेत विनानिर्णय र आधार लिजमा दिएको पाइएको छ ।
संस्थालाई नोक्सानी हुनेगरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेका कार्की तत्कालीन समयमा नेपाल ट्रस्टको कार्यालयमा सहसचिवका रूपमा कार्यरत थिए।