जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा तीव्र बन्दै गएको राजनीतिक आन्दोलनमा भारतको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएका छन् ।
शनिबार जनकपुरमा मधेसवासीलाई सम्बोधन गर्दै उनले वीरगञ्जस्थित भारतीय काउन्सिलर कार्यालयका प्रतिनिधिहरू दलसँग प्रत्यक्ष सम्पर्कमा रही ‘आन्दोलन उक्साउने’ गतिविधिमा संलग्न रहेको दाबी गरेका हुन् ।
मुख्यमन्त्री यादवका अनुसार, भारतीय प्रतिनिधिहरूले मधेसका दलहरूलाई फुटाउने र जोड्ने किसिमका धम्कीपूर्ण गतिविधि गर्दै आएका छन् ।
यादवले भने, 'काउन्सिलर अफिसका प्रतिनिधिहरू सिधै आएर दल फुटाइदिन्छु, जुटाइदिन्छु भनी धम्की दिइरहेका छन्, जसले सहमति बनाउने र भंग हुने चक्रलाई थप तीव्र बनाइरहेको छ।'
उनका अनुसार यस्ता हस्तक्षेपले प्रदेशको राजनीतिक वातावरण अस्थिर हुँदै गएको छ र आन्दोलनको दिशा नै बाह्य प्रभावले प्रभावित बनाइएको छ।
मुख्यमन्त्री यादवले आफू आन्दोलनकारी समूहको प्रत्यक्ष लक्षित बन्न थालेको दाबी गर्दै सुरक्षा अवस्था कमजोर बन्दै गएको बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा व्यवस्था रहे पनि सुरक्षा निकायले आफूलाई सीमित कार्यक्रम मात्र गर्न सल्लाह दिनुपर्ने अवस्था आएको उनले खुलासा गरे।