काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले दल नखोल्ने र चुनाव पनि नलड्ने बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।
समितिको बैठकमा उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्री अर्याललाई यसबारे प्रश्न गरेका थिए ।
जवाफमा गृहमन्त्री अर्यालले तत्काल प्रतिवाद गर्दै भने- 'म दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ ।'
बैठकमा ‘शान्ति सुरक्षा र आगामी निर्वाचनको तयारी’ बारे धारणा राख्दै उनले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी भएको बताए ।
गृहमन्त्री अर्यालले भने- 'स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न राजनीतिक दल, सरोकारवाला र कूटनीतिक नियोगका प्रमुख लगायतसँग छलफल एवं परामर्श गरिएको छ ।
मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन सबै सुरक्षा निकायको समन्वयमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको उनको भनाइ छ ।
उनले भने- ‘हामीलाई असफल हुने छुट नभएको हुँदा सबैबाट आगामी दिनमा हालको जस्तै साथ र सहयोग रहने कुरामा विश्वस्त छौँ ।'
वर्तमान सरकारसँग देश र आमजनताको उच्च अपेक्षा रहेको जनाउँदै गृहमन्त्रीले छोटो अवधिको बाबजुद जनताका आकांक्षालाई कानुनको परिधिभित्र रही अधिकतम हासिल गर्न प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।