काठमाडौं । दाङको घोराहीस्थित सोनापुर मिनरल एन्ड आयल प्रालिले लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुलको बक्यौता रकम तिरेको छ ।
कम्पनीले मंगलबार पहिलो किस्ता बुझाएपछि गत कात्तिक ७ गते विच्छेद गरिएको विद्युत् लाइन हिजो साँझ पुनः जडान गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको अवधिको प्रिमियम महसुल तिर्न सुरु गरेको हो ।
कम्पनीको कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेकोमा, उक्त रकमलाई २८ किस्तामा विभाजन गरिएको छ । पहिलो किस्ताका रूपमा कम्पनीले ८६ लाख ३० हजार रुपैयाँ बुझाएको विद्युत् प्राधिकरणले जनाएको छ ।
बक्यौता तिर्न ढिलाइ भएपछि प्राधिकरणले सोनापुर मिनरलको लाइन काटेको थियो । तर किस्ता तिर्ने सहमति भएपछि प्राधिकरण र कम्पनीबीचको समन्वयमा लाइन पुनः जडान गरिएको हो ।