काठमाडौं । पार्टीको नीतिविपरित मधेस प्रदेशको मन्त्री बन्न गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कञ्चन विच्छा शाहलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
पार्टी र नेतृत्वसँग कुनै छलफल परामर्श बिना मन्त्रीमण्डलमा समावेश भएको विषयमा स्पष्टीकरण माग गरिएको हो ।
राप्रपाको अनुशासन समितिका सचिव भक्तिप्रसाद सिटौलाले २४ घण्टे स्पष्टीकरण सोध्दै त्यसबारे कारण माग गरेका हुन् ।
‘पार्टी र पार्टीका नेतृत्व सँग कुनै छलफल र परामर्शबिना तपाई नेकपा एमाले संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा गठित मन्त्रीमण्डलमा समावेश भएकोले पार्टीको नीति, सिद्धान्त र हित विपरित हुने गरि गैह्रजिम्मेवारपूर्ण एवं अनुशासनहिन कार्य गर्नु भएको देखिन्छ सो सम्बन्धमा तपाइलाई राप्रपाको विधान २०४८ (शंसोधन सहित २०७८) को दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने होरु नपर्ने भए प्रमाणसहित २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न हुन केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार अनुरोध गर्दछु,’ स्पटीकरण पत्रमा भनिएको छ ।
मधेसका मुख्यमन्त्रीबाट जितेन्द्र सोनारले राजीनामा दिएसँगै तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीलेमहोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित पानस होटलमा सोमबार बिहानै एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाएकी थिइन् ।
सोमबार नै मुख्यमन्त्री बनेका यादवले आफु नेतृत्वको सरकारका तीनमन्त्री समेत बनाएका थिए ।
उक्त यादव नेतृत्वको सरकारमा मधेस प्रदेशकी राप्रपा सांसद शाहले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई समेत जानकारी नदिईकन मन्त्रीको शपथ लिएकी थिइन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार नै उनीमाथि खबरदारी गर्दै उनको निर्णय गलत रहेको भन्दै आलोचना गरेका थिए ।