काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकहरूलाई राजनीतिक गतिविधिमा नलागेर विद्यार्थीको पठनपाठनमा ध्यान दिन आग्रह गरेका छन् ।
आइतबार शिक्षकका संघ–संगठनलाई मान्यता नदिने घोषणा गरेपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शिक्षामा राजनीति घुसपैठका कारण पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले सूचना जारी गरिएको स्पष्ट पारेका हुन् ।
उनले लेखेका छन्, 'संविधानले शिक्षकलाई दिएको अधिकार खोस्न मिल्दैन । तर राजनीतिक पार्टीहरूको संरक्षणमा विद्यालय र विश्वविद्यालयको सञ्चालनमा बाधा अड्चन पुर्याउने र विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने अनुमति कसैलाई पनि छैन ।'
मन्त्री पुनका अनुसार, सीटीइभीटी, विद्यालय र विश्वविद्यालयहरूमा देखिएको राजनीतिक हस्तक्षेप र चलखेलका कारण शिक्षण–अध्ययन अस्तव्यस्त भएको छ । उनले भने, 'विद्यार्थी र अभिभावकबाट हजारौँ गुनासो सुनेपछि नै यस्तो सूचना जारी गरिएको हो । यस्तो अनावश्यक राजनीति र चलखेल पनि भ्रष्टाचारकै रूप हो ।'
उनले शिक्षकलाई आगामी २१ फागुनमा हुने निर्वाचनको प्रचारप्रसारमा भन्दा विद्यालयीय पठनपाठनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । 'अब आउने चुनावको प्रचारमा चौबिसै घण्टा लागेर स्कुलमा पढाइ नछोड्नु होला भन्ने विनम्र अनुरोध छ,' उनले लेखे, 'नबिराउनु, नडराउनु भन्ने नेपाली उखान छ नि त।'