काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै छिन् ।
नेकपा माओवादी केन्द्रसहितका बाम घटकहरूसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा उभिएकी उनीसहितको एक समूहले आज बिहान ठिक १० बजे होटल बसेरा, बबरमहलमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।
‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न, सैद्धान्तिक र वैचारिक दृष्टिकोण मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउन आवश्यक छ भन्ने कुरा बोध भएकै छ,’ पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले अगाडि भनेकी छन्, ‘हामीले लामो समयदेखि निरन्तर यो अभियानमा संघर्ष गर्दै आएका छौँ। तर उक्त संघर्ष अपेक्षाकृत निष्कर्षमा पुग्न सकेको छैन। आज हाम्रा सामु जुन परिस्थिति सिर्जना भएको छ यस्तो अबस्थामा नेपालको कम्यूनिष्ट आन्दोलनलाई एकताबद्द गर्दै विकाश र समृद्धिको मार्गमा अगाडी बढ्न हामी लिने बाटो कस्तो हुन्छ ?’
वर्तमान परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाई विकासको मार्गमा अघि बढ्ने बाटो कस्तो हुने भन्ने विषयमा विचार–विमर्श गर्न यो सम्मेलन बोलाइएको झाँक्रीले उल्लेख गरेकी छन् । आजै नौ बाम घटकबीच दिउँसो एक बजे काठमाडौंको भृकुटीमण्डपमा पार्टी एकता घोषणा हुँदैछ ।