काठमाडौं । गत भदौमा भएको जेनजी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यसहित ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरिएको छ। फ्रन्टले शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै ३९ सदस्यीय संघीय संयोजन समिति गठन गरेको जानकारी दिएको हो।
वक्तव्य अनुसार, नयाँ फ्रन्टको स्थापना विद्रोहसँग सम्बन्धित सबै पक्षलाई एकताबद्ध गर्न, राज्यसँग सम्झौताका एजेन्डा एकीकृत गर्न र जेनजी विद्रोहलाई व्यवस्थित रूपमा अघि बढाउन गरिएको हो । फ्रन्टले यसमा सहभागी हुन चाहने सबैका लागि ढोका खुला रहेको पनि उल्लेख गरेको छ।
फ्रन्टले आफ्नो घोषणासँगै जेनजी विद्रोहको दस्तावेज पनि सार्वजनिक गरेको छ । दस्तावेजमा विद्रोहको पृष्ठभूमि, तत्कालीन उपलब्धि, जिम्मेवारी र आगामी लक्ष्यबारे विस्तृत जानकारी दिइएको छ ।
यसमा जेनजी विद्रोहलाई कुनै दल वा समूहको योजना नभई असन्तुष्ट युवा पुस्ताको सामूहिक चेतनाबाट उत्पन्न ‘राजनीतिक विस्फोट’ भएको बताइएको छ।
संयोजन समितिको नेतृत्वमा संयोजक रक्षा बम रहेका छन्। अन्य प्रमुख पदाधिकारीमा युजन राजभण्डारी (सङ्गठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनिष खनाल (संवाद समिति) र आदित्य कर्ण (प्रदेश समन्वय समिति) रहेका छन् ।