काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जारी केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेका छन्।
बिहीबार बसेको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग कुरा नमिलेपछि महामन्त्री थापा बैठकस्थलमा प्रवेश नगरी बाहिरिएका एक केन्द्रीय सदस्यले जानकारी दिए।
नेताहरूका अनुसार, उक्त बैठकमा महामन्त्री थापाले आजको बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्नका लागि कार्यवाहक सभापति को स्वीकृति खोजेका थिए।
कार्यतालिका पेश गर्ने विषयमा सहमति जुट्नु नसकेपछि उक्त बैठक लगत्तै बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापा अनुपस्थित भएका हुन् । तीन नेताको बैठकपछि कार्यबाहक सभापति खड्का र अर्का महामन्त्री शर्मा भने बैठक कक्षमा पुगेपनि थापा भने सहभागी भएनन् ।
यसअघि पनि थापाले महाधिवेशनका दुई विकल्प केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गरेका थिए।
केन्द्रीय कार्यसमितिमा प्रस्तावका लागि लैजान कार्यसम्पादन समितिमा प्रस्तुत थापाका विकल्प संस्थापन पक्षले अस्वीकार गरेको थियो।
सो प्रस्ताव उनले सार्वजनिक गरेका थिए। आजै महामन्त्री शर्माले नियमित र विशेष महाधिवेशन गर्ने विभिन्न विकल्पबारे चार बुँदाको प्रस्ताव सार्वजनिक गरेका थिए।
महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरुले विशेष महाधिवेशनका लागि असोज २९ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेको सन्दर्भमा आगामी फागुन २१ गते हुने निर्वाचनअघि नै विशेष महाधिवेशन बोलाउनुपर्ने महामन्त्री थापा र शर्माको जोड छ।
महामन्त्री थापाले २७ असोजको कार्य सम्पादन समितिको बैठकमा मंसिर २७ देखि २९ सम्म नियमित महाधिवेशन को लागि कार्यतालिका प्रस्ताव गरेका थिए । सोही प्रस्ताव केन्द्रीय समितिमा पेश गर्न सहमति जुट्न सकेको छैन ।
कांग्रेस बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने एजेन्डा सभापतिको सहमतिमा मात्रै प्रस्तुत गर्ने चलन छ।