काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दबाब दिएको भन्ने हल्लाको खण्डन गरेको छ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले हल्लाको खण्डन गरेको हो ।
प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्री अर्याललाई हटाउन मेयर शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ- 'कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।'
जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेका उल्लेख गरेको छ ।
साथै संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन पनि उनले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका बेला सामाजिक सञ्जालबाट निर्देशन दिइरहेका बालेनलाई राष्ट्रपतिसँग वार्ताका क्रममा जेनजी प्रतिनिधिले प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर, यसलाई अस्वीकार गर्दै उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका थिए।
तर, गृहमन्त्री अर्यालले जेनजीको मागअनुसार आन्दोलन दबाउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहममन्त्री रमेश लेखकलगायतविरुद्ध ‘एक्सन’ लिन नसकेको भन्दै बालेन असन्तुष्ट रहेको र उनलाई पदबाट हटाउन प्रधानमन्त्री कार्कीलाई दबाब दिइरहेको हल्ला भइरहेको थियो।